राष्ट्रिय

मुलुकभित्रै मानव बेचविखनका घटना बढ्दै

- केएफएम डेस्ककाठमाडौं

मुलुकमा पछिल्लो तीन वर्षयता मानव बेचबिखन सम्बन्धी उजुरीका घटना निरन्तर बढ्दै गएको एक तथ्यांकले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले मुलुकमा गत वर्ष मात्रै मानव बेचबिखन सम्बन्धी १ सय ४५ वटा मुद्दा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । मानव बेचविखन अनुसन्धान व्यूरोमा दर्ता भएका सो उजुरीमा २ सय ११ व्यक्तिहरु मानव बेचबिखनबाट पीडित भएका छन् ।

मानव बेचबिखनमा परेका व्यक्तिमध्ये ९४ दशमलव ७ प्रतिशत महिला र ५ दशमलव २ प्रतिशत पुरुष छन् । गत वर्ष दर्ता भएका सो घटनामा अभियुक्त ठहरिएका २ सय ९१ मध्ये १ सय ८० जनालाई पक्राउ गरिएको छ ।

मानव बेचबिखनको घटनामा बाहृय भन्दा आन्तरिक बेचबिखनको अवस्था बढेको प्रतिवेदनले देखाएको हो । मुलुकका विभिन्न शहरी क्षेत्रमा दोहोरी साँझ, डान्सबार, मसाज सेन्टर लगायत क्षेत्रमा सो घटना बढी हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ । आन्तरिक बेचबिखनको अलावा भारत, चीन लगायत देशमा पनि मानव बेचबिखन हुने गरेको छ ।

भारतमा देह व्यापार, श्रमिकको रुपमा र चीनमा विवाह, साँस्कृतिक कार्यक्रम, घुमफिर, रोजगारीका बाहानामा बेचबिखन तथा ओसारपसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै गत आर्थिक वर्षमा जबरजस्ती करणीका २ हजार ३ सय ८० घटना भएको छ भने ३ सय १४ बालयौन दुरुपयोगको घटना भएको प्रतिवेदनमा उल्लेख छ ।