राष्ट्रिय

पहिचानवादीहरुले धरानमा गरे तालाबन्दी

- प्रदीप मेन्याङ्बो

कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै पहिचानवादी आन्दोलनकारीहरुले धरान उपमहानगरपालका र २० वटै वडाहरुमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातिय सामाजिक सांस्कृतिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतले तालाबन्दी गरेको हो । तालाबन्दी गर्नु अघि उनीहरुले कर्मचारीहरुलाई बाहिर निकालेका थिए । 

आन्दोलनकारी नगरपालिका कार्यालयमा तालाबन्दी गर्न आउनु भन्दा एक घण्टा अगाडि नै सुरक्षाकर्मीहरु पुगेका थिए । आन्दोलनकारीहरुले मुख्य प्रवेशद्धारमै तालाबन्दी गरेर कोणसभा गरेका थिए । कोणसभामा धरान उपमहानगरपालिकाले प्रयोग गर्न थालेको कोशी प्रदेश लेखिएको लेटर प्याड र छाप जलाएर विरोध जनाएका थिए । यसअघि उनीहरुले वडा ५ र १५ का वडा समिति कार्यालयमा तालाबन्दी गरेका थिए ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीका अध्यक्ष अमर इजमकाअनुसार दोस्रोचरणको आन्दोलन अन्तर्गत चैत १४ गतेदेखि १७ गतेसम्म स्थानीय तहका कार्यालय, वडा समिति कार्यालयमा तालाबन्दी गरेर कालो झण्डा गाड्ने, कोशी लेखिएको बोर्ड हटाउने, लेटरप्याड च्यात्ने जलाउने कार्यक्रम रहेको छ ।