राष्ट्रिय

बाघको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

- भवानी भट्टकञ्चनपुर

कञ्चनपुरमा बाघको आक्रमणपछि बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । बाघले आक्रमण गरेको २२ घण्टापछि बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षिय गंगा चन्दको शव भेटिएको सव डिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले जानकारी दिनुभयो ।

बाघले ती महिलाको शव दलदलमा लुकाएको अवस्थामा भेटिएको यादवले जानकारी दिनुभयो । हिजो बिहान घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको थियो । बर्दियाबाट आएको प्राविधिक टोलीले बाघलाई डाँट गरेर नियन्त्रणमा लिएपछि आज बिहानैदेखि चन्दको खोजी गरिएको हो ।

नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कोर एरियामा छाडिने सहायक वन अधिकृत यादवले जानकारी दिनुभयो ।