किर्ते कागजातको आधारमा छुटाउन खोजिएको ट्रकमाथि भन्सारद्वारा छानबिन सुरु
-नक्कली र किर्ते कागजातको आधारमा भन्सार राजश्व छल्न खोजेको लाखौं रुपैयाँ मुल्यको सामान सहितको एउटा भारतीय ट्रकलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइ छानबिन सुरु गरेको छ । घटनामा भन्सार कार्यालयले ११ जना व्यक्तिलाई नियन्त्रणमा लिइ कारवाहीका लागि सोधपुछ र अनुसन्धान थालेको छ ।
भैरहवा भन्सार कार्यालयका अनुसार, करिव १३ लाख रुपैया मुल्य पर्ने ३ क्विन्टल ८ सय ग्राम माछा सहित भैरहवा भन्सार कार्यालय परिसरबाट बाहिर निस्किन लागेको अवस्थामा युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय मिनीट्रकलाई अस्ति शनिवार बेलुका नियन्त्रणमा लिइएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भन्सार जाचपास गर्नकालागि अपनाउनु पर्ने कागजात सहित सबै प्रकृया नक्कली र किर्ते गरि राजश्व छलेर बाहिर निस्किन लागेको अवस्थामा सो ट्रकलाई नियन्त्रणमा लिइएको र यस घटनामा संलग्न तथा शंकास्पद व्यक्ति तथा कर्मचारीलाई आइतवार नियन्त्रणमा लिइ अनुशन्धान थालिएको बताउनुभयो ।
उक्त मिनीट्रक सहित तत्कालै गाडीका चालक र सहचालक पक्राउ परेका थिए । सामानको आयातकर्ता, निर्यातकर्ता, कागजात किर्ते र नक्कली गर्ने व्यक्ति, भन्सार ऐजेन्टको प्रतिनीधि, भन्सार परिसरमा रहेको राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी र भन्सारको पार्किगं व्यवस्थापनको जिम्मा लिएको कम्पनीका कर्मचारी गरि कुल ११ जनामाथि सोधपुछ र छानबिन थालिएको छ ।