मेयर नेपाली सहित ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार
-गृहमन्त्रालयले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन बिभागलाई पत्राचार गरेको छ । शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा विभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो । केही दिनदेखि नेपाली सहित सहकारीका पदाधिकारी सम्पर्क बिहिन छन् । ढोरपाटन नगरपालिका १ र बागलुङ नगरपालिका २ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका नेपाली भागेर बिदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिनुभयो । सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ । भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रति व्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैयाँ बचत संकलन गरेको छ । १८ प्रतिशत व्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतवार बेलुकी पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।