राष्ट्रिय

तराई क्षेत्रमा अझै ५ दिनसम्म तातो हावा चल्ने

- केएफएम डेस्ककाठमाडौं

तराई–मधेसका क्षेत्रमा उच्च तापक्रमसंगै लू लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । ती क्षेत्रमा तापक्रम ४० डिग्री भन्दामाथि पुग्ने विभागको अनुमान छ । रुपन्देही, नवलपरासी, सिमरा लगायत स्थानमा तापक्रम उच्च बिन्दुमा पुग्ने विभागले जनाएको छ ।

सो क्षेत्रमा आगामी बिहीवारसम्म पानी पर्ने संभावनासमेत कम छ । अन्य प्रदेशका तराई भू–भागमा भने तापक्रम बढेपनि उच्च बिन्दुमा पुग्ने सम्भावना नरहेको विभागको भनाई छ । मध्याहृन १२ देखि अपराहृन ४ बजेसम्म तातो हावा उच्च बिन्दुमा पुग्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने मौसमविद् संजिव अधिकारीको सुझाव छ । सो समयमा अत्यावश्यक काम बाहेक घर भित्रै बस्ने, पानीको सेवन निरन्तर गर्ने लगायत सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । गर्मी बढेसंगै स्वास्थ्यसँग सम्बन्धित समस्था बढ्ने भएकाले प्रशस्त पानी पिउन फिजिसियन डा. दिग्विजय ठाकुरले सुझाव दिनुभयो ।

बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरुमा गर्मीबाट हुन सक्ने समस्याले बढी असर गर्ने भएकाले सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । यसैबीच, कोशी, कर्णाली, सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही भू–भागमा भने हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ ।