राष्ट्रिय

राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र सुन तस्करी घटनाको छानविन अघि बढ्ने

- केएफएम डेस्क

सुन तस्करी घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोगले राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै काम सुरु गर्ने भएको छ । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएको सुन तस्करीका घटनाको थप अनुसन्धान गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा हिजो जांचबुझ आयोग गठन गरेको थियो । 

 जांचबुझ ऐन २०२६ को व्यवस्था बमोजिम गठन भएको आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन् । कार्की अर्थ र जोशी गृह मन्त्रालयको लामो अनुभव संगालेका पूर्वप्रशासक हुन् । थापाले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकबाट केही समयअघि मात्रै अवकाश प्राप्त गर्नुभएको थियो । 

सरकार र विपक्षी दलबीच भदौ ६ मा भएको समझदारी अनुसार मन्त्रिपरिषद् बैठकले आचार्य नेतृत्वमा जााचबुझ आयोग गठन गर्नुका साथै तत्काल काम अघि बढाउन क्षेत्राधिकार समेत तोकेको छ ।