अवैध हुण्डी संचालन गरेको आरोपमा बागबजारबाट एक जना पक्राउ
- काठमाडौंप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंको बागबजारबाट अवैध हुण्डी संचालन गरेको आरोपमा झण्डै एक करोड रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २८ बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् । अवैध रुपमा अनलाइन मार्फत जुवा खेलाएको तथा नेपालमा अवैध मानिएको क्रिप्टोको कारोबार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता नबराज अधिकारीले जानकारी दिनुभयो ।
हिजो दिउँसो पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान गर्दा अवैध हुण्डी संचालन गरेको पाइएको प्रहरीले जनाएको छ । श्रेष्ठको घरबाट प्रहरीले ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको छ । यो अमेरीकी डलरको मूल्य आजको विनिमय दर अनुसार ९ लाख ३६ रुपैयाँ बढि हुन आउँछ ।