राष्ट्रिय

खोटाङमा बिरामीको ज्यान लिने नक्कली डाक्टर ११ वर्षपछि पक्राउ

- उत्तम चौलागाँई

जिल्ला प्रहरी कार्यालय, खोटाङले लापरवाही ढंगले उपचार गरी बिरामीको ज्यान लिने नक्कली डाक्टरलाई कर्तव्य ज्यान मुद्दामा ११ वर्षपछि पक्राउ गरेको छ । हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको थियो । यसपछि मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरिएको हो । मेहताले पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएदिएपछि राईको मृत्यु भएको भन्दै मृतककी आफन्त देवीसरा राईले २०६९ चैत १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । मेहतालाई गत माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । 

छानबिनका क्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेश गरेर पोलिक्लिनिकमा काम गर्दै आएको खुलेको थियो । आयुर्वेदमा एचए उत्तीर्ण मेहताले चीनबाट एमबीबीएस गरेको नक्कली प्रमाणपत्र पेश गरेर उपचार गरिरहेको खुलासा भएको थियो । प्रहरीले सोही पोलिक्लिनिकमा आबद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का महेशप्रसाद साह र बोदेबरसाईन नगरपालिका–२ का अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।