राष्ट्रिय

जलेश्वर भन्सारलाई सुख्खा बन्दरगाह बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

- सन्तोष सिंह

महोत्तरीका व्यवसायी र राजनीति दलका प्रतिनिधिहरुहरुले जलेश्वर भन्सार कार्यालयको स्तरोन्नतीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जलेश्वर भन्सारको स्तरोन्नती गरी सुख्खा बन्दरगाह र तेश्रो मुलुकबाट आयात निर्यात सुविधा सुञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको जलेश्वर उद्योग संघका अध्यक्ष लव राजा सिंहले बताउनुभयो । 

औद्योगिक र व्यापारिक विकासका लागि २०२६ सालमा जलेश्वर नगरपालिकाको भारतीय सिमानामा स्थापित जलेश्वर भन्सारको स्तोरन्नतीको माग गर्दै जलेश्वर, गौशाला, मटीहानी र बर्दिबासका उद्योगी व्यवसायी, राजनीति दलका प्रतिनिधि लगायतकाले शनिबार प्रधामनमन्त्री पुष्पकमल दहाललाई ज्ञापन पत्र बुझाएको हो ।

तेश्रो मुलुकबाट सामान आयात निर्यात गर्दा कलकताबाट जलेश्वर भन्सारको वीरगंजको भन्दा २२५ किलोमिटर दुरी कम रहेको, प्रदेशको मध्य भागमा रहेको उद्योगी व्यवसायीलाई वीरगंज र बिराटनगरबाट ढुवानी लागत भन्दा जलेश्वरबाट कम पर्ने, ठुला भन्सार कार्यालयमा कुनै समस्या आउदा जलेश्वरलाई वैकल्पिक भन्सारको रुपमा प्रयोग गर्न सक्ने भएकोले जलेश्वर भन्सारको स्तरोन्नती गरी सुख्खा बन्दरगाह बनाउन माग गरिएको जलेश्वर उद्योग संघका अध्यक्ष सिंहले बताउनुभयो ।