राष्ट्रिय

मधेसमा बालविवाह र दाइजोप्रथा रोक्ने सरोकारवालाको प्रतिबद्धता

- सुनिता बरालमहोत्तरी

मधेसमा बालविवाह र दाइजोप्रथा रोक्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । मधेशी आयोगले महोत्तरीको बर्दिवासमा धार्मिक गुरु र सरोकारवालासँग गरेको अन्र्तक्रियामा सहभागीहरुले मधेसमा व्याप्त बालविवाहसँगै दाइजोप्रथा समेत रोक्ने प्रतिवद्धता जनाएका हुन् । 

कार्यक्रममा आठ जिल्लाका पुजारी, पण्डित, मौलाना, पास्टर, धार्मिक संस्थाका प्रमुख तथा जनप्रतिनिधि लगायत सरोकारवालाले मधेसमा बालविवाह नरोकिएको प्रति चिन्ता व्यक्त गरे । 

व्यक्तिगत र संस्थागत तहबाट समेत बालविवाह तथा दाइजोप्रथा रोक्न प्रतिबद्ध रहेको भन्दै सहभागीले सामूहिक हस्ताक्षर गरेको मानव अधिकार अयोगका सदस्य जिवछ साहले जानकारी दिनुभयो । 

कानून विपरीतका कार्य गर्ने/गराउने र गराउन सहयोग गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरोकारवालहरुको भनाई छ । 

अभियान चल्दाचल्दै पनि बालविवाह र दाईजोप्रथा नरोकिएको भन्दै धनुषाको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले जरो खोजेरै समाधान निकाल्नुपर्ने बताउनुभयो । 

बालविवाह अन्त्यका बारेका पाठ्यक्रममै राखेर कानून र बेफाइदा बारे बालबालिकालाई शिक्षा दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा उठेका सवाल बालविवाह अन्त्यका लागि निकै महत्वपूर्ण रहेकाले सुझाव कार्यान्वयन र सामूहिक प्रतिवद्धता पूरा गर्न आफूहरु प्रतिवद्ध रहेको मधेसी आयोगका अध्यक्ष विजय कुमार दत्तले बताउनुभयो । 

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले बालविवाह रोक्न प्रहरी पुगेपछि अभिभावकले नेता र जनप्रतिनिधिलाई फोन गरेर प्रहरीलाई फर्काउने क्रम नरोकिएसम्म यो प्रथा अन्त्य नहुने बताउनुभयो । कानूनको कार्यान्वयनमा सबै निर्मम भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।