राष्ट्रिय

खगराजको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

- प्रतीक्षा काफ्ले कास्की

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एमाले नेता खगराज अधिकारीलाई गण्डकी मुख्यमन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । निवर्तमान मुख्यमन्त्री पाण्डेका तर्फबाट कानून व्यवसायीले दायर गरेको रिटमा उत्प्रेषणको आदेशमार्फत् मुख्यमन्त्री अधिकारीलाई पदबाट मुक्त गर्न माग गरिएको छ । 

रिटमा प्रदेश प्रमुख डिल्लीराज भट्टले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नुपर्नेमा दलीय आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको उल्लेख छ । सभामुख कृष्ण धितालको समेत समर्थन रहेको दावीसहित नयाँ सरकार गठनका लागि गरिएको प्रस्तावलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।