राष्ट्रिय

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

- अर्जुन शाहधनगढी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश राजधानी धनगढीमा बिहान सवा १० बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लाग्नु भएको हो । 

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारी गत बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ) पक्षधर दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको छ । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यसअघि एमालेकै आनाकानीका कारण विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको दुुई पटकको प्रयास धकेलिएको थियो । 

एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि बैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । 

प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख बाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्र्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

यसैबीच, सत्ता घटक एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केन्द्रीय गठबन्धनमा नै समस्या आउने भएपछि मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको हो । 

एमाले प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तर, सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा थापाले बताउनुभयो । 

एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । माओवादीले भने विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने जनाएको छ ।