दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
- तनहुँतनहुँको सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति पौने १ बजेदेखि लागेको आगो तीन घण्टापछि निभाइएको थियो ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । ती सटरमा विभिन्न पसल सञ्चालनमा थिए । आगलागीबाट करीब २० वटा सटर पूर्णरुपमा जलेका छन् ।
आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।
तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकल र सुरक्षाकर्मीको सहयोगमा बिहान पौने चार बजेतिर आगो निभाइएको प्रहरीले जनाएको छ ।
आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।