मरेको गैँडाको खाग झिकेर बेच्न खोज्ने ६ जना पक्राउ
- चितवनदुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको खाग किनबेच गरेको आरोेपमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ जनालाई पक्राउ गरेको छ ।
मरेर सडेगलेको अवस्थामा भेटिएको गैँडाको खाग झिकेर राखेको लामो समयपछि बिक्री गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नवलपरासी कावासोती नगरपालिकाका ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिर, २९ वर्षीय क्रान्ति खड्का र ३८ वर्षीय लेखनाथ सुनार छन् ।
त्यस्तै, नवलपरासी बुलिङटारका ३५ वर्षीय खिमबहादुर बराल र बझाङका २७ वर्षीय प्रकाशराज जोशी पक्राउ परेका छन् ।
निकुञ्जको पश्चिम क्षेत्र अमलटारी क्षेत्र अन्तर्गत रहेको नवलपरासीको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा भेटिएको गैँडाको सो खागको उचाइ दुई दशमलव चार इन्च र तौल जम्मा ६० ग्राम रहेको निकुञ्जले जनाएको छ । घटनामा संलग्न एकजना भने फरार छन् ।
गैँडा खाग किनबेचको मुद्दाको अभियोग पुष्टि भए बढीमा १० लाख रूपैयाँ जरिवाना, १५ वर्ष कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।
चितवन निकुञ्जले चालू आर्थिक वर्षको हालसम्म गैँडा मुद्दाका २५ जनालाई समाएको सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।