लामिछानेविरुद्धको रिटमा आज पेशी
- काठमाडौंसहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।
रिट निवेदक अनुपम भट्टराईले ‘लामिछानेविरुद्ध कुनै मुद्दा छैन’ भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्नुभएको छ ।
सो रिटको पेशी आजका लागि तोकिएको हो ।
यसअघि सो रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।
दरपीठ बदरको माग गर्दै परेको रिटमा गत बधुबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।
सो आदेशपछि अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता गर्नु भएको हो ।
रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानूनी वैधतामाथि प्रश्न उठाइएको छ ।
पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले लामिछानेलाई पदबाट हटाउन उपयुक्त आदेश जारी गर्न समेत रिटमा माग गरिएको छ ।