राष्ट्रिय

छिपछिपे सहकारी हिनामिनामा ३५ जनालाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गर्ने तयारी

- नारायण शर्मानवलपरासी

पूर्वी नवलपरासीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत रकम हिनामिना गरेको अभियोगमा ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिलको कार्यालले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

सहकारीको रकम हिनामिना गरेको अभियोगमा राप्रपा सांसद गीता बस्नेत, नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रकम हिनामिनामा संलग्न भएका ३५ जनामध्ये १० जना प्रहरी हिरासतमा रहेका छन् भने सांसद बस्नेतसहित अन्य २५ जना फरार छन् । २५ दिनअघि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि सांसद बस्नेत सहित अन्य फरार भएका हुन् ।