राष्ट्रिय

राष्ट्रिय सडकसँग नजोडिएको हुम्ला सदरमुकाम सिमकोटमा चीन हुँदै बस पुग्यो

- जनकबहादुर शाहीसिमकोट

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक चीनको बाटो हुँदै यातायात सेवा पुगेको छ ।

हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक बस हुम्ला सदरमुकाम सिमकोट पुगेको हो ।

सिमकोटबाट हिल्सा र खार्पुका लागि संचालन हुने बसले खार्पुनाथ गाउँपालिका–५ को खार्पुबाट सिमकोट जाने बिरामीहरुलाई निःशुल्क सेवा दिने भएको छ ।

देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो । यात्रुलाई सेवा दिन पहिलो पटक सदरमुकाम सिमकोटमा बस पु¥याइएको व्यवसायी विजय लामाले बताउनुभयो ।

व्यवसायी लामाले नेपालबाट बस ल्याउन सम्भव नभएपछि चीनको बाटो प्रयोग गरेर एक वर्ष अघि २ वटा बस हिल्सा पु¥याएका थिए। सिमकोटसम्म राष्ट्रिय सडक सञ्जाल नपुगे पनि उत्तरतिरबाट जिल्ला सदरमुकाम जोडिएकाले चीनको बाटो हुँदै बस सिमकोट पु¥याइएको लामाले बताउनुभयो ।

च्याछहरामा सडक चौडा भएसंगै हिजो ६ घण्टा समय लगाएर हिल्साबाट ९५ किलोमिटर टाढा रहेको सदरमुकाम सिमकोट पुगेको हो । सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध भएको बस सदरमुकाम सिमकोट पुगेसंगै हुम्लाका नागरिकलाई महँगो भाडा तिरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

बस पहिलो पटक सदरमुकम पुगेपछि स्थानीयले बाजागाजासहित यात्रु तथा चालकलाई अबिर लगाएर स्वागत गरेका थिए । बस सिमकोटमा पुगेपछि भोलि देखि नियमित रूपमा सिमकोट–हिल्सा र सिमकोट–खार्पुका लागि सञ्चालन गर्ने लामाले बताउनुभयो ।