राष्ट्रिय

मुगुमा लेक लागेर दूई दिनमा चार यार्चा संकलकको मृत्यु

- राजबहादुर शाहीमुगु

मुगुको पाटन क्षेत्रमा लेक लागेर दुई दिनमा चार जना यार्चा संकलनको मृत्यु भएको छ ।

यार्चा संकलनका लागि गएका छायाँनाथ रारा नगरपालिका–१० का २४ वर्षीय राजबहादुर सावत र २० वर्षीय देवराज बुढाको हिजो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार ठूलो कोइकीमा लेक लागेर सिकिस्त बिरामी परेका देवराज र राजबहादुरलाई उपचारका लागि मुगु स्वास्थ्य चौकीमा ल्याइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको केसीले जानकारी दिनुभयो । त्यस्तै, शुक्रबार लेक लागेर छायाँनाथ–१२ सोभा गाउँका मुनबहादुर बुढा र सोबान बुढाको मृत्यु भएको थियो ।

सदरमुकाम गमगढीदेखि यार्चा संकलन क्षेत्र ठूलो कोइकी, सानो कोइकीे क्षेत्रमा सञ्चार सम्पर्क स्थापित हुन नसक्दा संकलनकर्ताको अवस्था बुझन सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कठिनाइ भइरहेको छ ।