वर्तमान सरकार दुुई चार दिनमै ढल्छः अध्यक्ष यादव
-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई चार दिनमै ढल्ने दाबी गर्नु भएको छ । सदरमुकाम तौलिहवामा आज आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष यादवले सत्ता गठबन्धन भित्र धेरै विवाद रहेकोले सरकार धेरै दिन नटिक्ने दाबी गर्नुभयो । सत्ता गठबन्धन घटक प्रमुख पार्टी एमालेलाई बेवास्ता र बाईपास गरेर बजेट ल्याएकाले अब यो सरकारको आयु धेरै नभएको एमाले अध्यक्ष केपी ओलीको असन्तुष्टीले समेत पुष्टी हुंदै गएको उहाँको तर्क थियो ।
अहिलेको बजेट माओवादीले एकलौटी ढंगले ल्याएकाले सरकारमा असन्तुष्टी बढेको आरोप उहाँले लगाउनुभयो । आफ्नो पार्टीलाई पुष्पकमल दाहालले सरकार जोगाउने नाममा फुटाएको आरोप लगाउँदै माओवादी पार्टी पनि सिसाको घर भएकाले अरुको घरमा पत्थर हान्नेले यसको परिणाम चाँडै भोग्नु पर्ने उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालबाट अलग हुनेहरु अवसरवादी, लालची र स्वार्थीहरु मात्र भएको भन्दै उहाँले २ प्रतिशत पनि पार्टी कार्यकर्ता नगएको दाबी गर्नुभयो । उहाँले अब आफ्नो पार्टी नयाँ ढंगले सुदृढ र सुद्धीकरण गरेर जाने बताउनुभयो । जनकपुरमा हुने पार्टीको महाधिवेशनपछि पार्टी अझ संगठित, गतिशिल र सशक्त हुने उहाँको दाबी थियो ।