बागलुङमा फरक फरक मूल्य राखेर पानी बेच्ने दूई कम्पनी कारबाहीमा
- काठमाडौंबागलुङका बजारमा विक्री भैरहेको कालीका मिनरल वाटर’ पानीको उत्पादक महालक्ष्मी मिनिरल्स् एण्ड बेभरेज उद्योग’लाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ ।
एउटै उत्पादनलाई दुइथरी मूल्य राखेर उपभोक्तालाई ठगी गरेको भन्दै उपभोक्ता हित संरक्षण ऐन २०७५को दफा २ को (क) अनुसार २ लाख रुपैयाँ जरिवाना गरिएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले उद्योगलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
गत साता उपभोक्ताले एउटै पानीको २० रुपैयाँ र ५० रुपैयाँ मूल्य राखेको भेटेपछि प्रशासनमा उजुर गरेका थिए । बागलुङ नगरपालिका ११ का लक्ष्मण केसीले दिएको उजुरी पछि प्रशासनले छानविन गर्दा उक्त दुइथरी मूल्य भेटिएको थियो ।
बजारमा बेच्दा २० रुपैयाँ राखिएको र बागलुङ नगरपालिका वडा नंं ३ को ‘दि राजन होटल’मा राखिएको पानीमा ५० रुपैयाँ मूल्य राखिएको थियो ।
केसीले होटलबाट पानी किन्दा ५० रुपैयाँ तिरेको बील समेत भेटेपछि प्रशासनले छानविन गरेको हो । बुधवार प्रशासनले उद्योगलाई कारवाही गरी २ लाख रुपैयाँ जरिवाना गरिएको पत्र पठाएको छ ।
उद्योगले होटललाई प्रति बोतल १३ रुपैयाँमा बिक्री गरेको र होटलले आफ्नो लोगो प्रयोग गरेर ५० रुपैयाँ सम्ममा विक्रि गिरिरहेको पाइएको छ ।
त्यस्तै मोदी पानी उद्योगले पनि उपभोक्ता ठगेको भेटेपछि प्रशासनले कारवाही प्रकृया सुरु गरेको छ।