राष्ट्रिय

तिलोत्तमाका उत्कृष्ट ९ महिला उद्यमी सम्मानित

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ९ जना महिला उद्यमीलाई सम्मान गरेको छ । नगरपालिका र दायित्व नाम संस्थाको सहकार्यमा सञ्चालित ‘नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम द्रुतीकरण कार्यक्रम’का उत्कृष्ट ९ महिला उद्यमीलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको हो । 

दायित्वको परियोजना अन्तर्गत उद्यम योजना तथा लगानी प्रस्तुतीमा पहिलो चरणमा छनोट भएका ८० जना मध्येबाट २० लाई छनोट गरिएको थियो । त्यसमध्येमा पनि अब्बल सावित भएका ९ जना महिला उद्यमीलाई एक कार्यक्रमबीच तिलोत्तमाका प्रमुख रामकृष्ण खांण र उपप्रमुख जगेश्वरदेवी चौधरीले सम्मान तथा पुरस्कार वितरण गर्नु भएको हो । 

चौंथो संस्करणको कार्यक्रमबाट रियुजेबल प्याड उद्यम सञ्चालन गरिरहेकी अन्जु थापाले सर्वोत्कृष्ट उद्यमी घोषणा भई १ लाख नगद पुरस्कार प्राप्त गरिन् । त्यस्तै, फेसन डिजाइनिङ सेन्टर सञ्चालक सिमा पाण्डेले फस्ट रनर अपको उपाधि सहित ७५ हजार जितिन् भने अन्य ७ जना उद्यमी अब्बल भई ५०/५० हजार रुपैयाँ प्राप्त गर्न सफल भए । 

अब्बल उद्यमीमा कृषि, बुटिक, झोला र ड्रेस टेलरिङ सेन्टरका उद्यमी छनोट भएका थिए । चालू आर्थिक वर्ष २०८०/८१ लागि छनोट भएका ९ उद्यमीले विगत ९ महिनादेखि दायित्वसँग साथै रहेर तालिम लिने, अन्य जिल्लाका उद्यम अवलोकन गर्ने, आफ्नो उद्यममा लगानी थप तथा २ वर्षे नयाँ योजना सहितको लक्ष्य प्रस्तुत गरेका थिए । 

सोही प्रस्तुति करणको आधारमा निर्णाकयक मण्डलले मूल्यांकन तथा उनीहरुले सञ्चालन गरिरहेको उद्यम अवलोकन पश्चात पाएको अंक जोडी उत्कृष्टलाई सम्मान गरिएको कार्यक्रमका संयोजक सन्जय पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पलिका भित्र रहेर २ वर्षबाट दर्ता भई कार्य गरिरहेका महिला उद्यमी छनोट गरी उनीहरुको उद्यम सोच, सीप र क्षमता अभिवृद्धि साथै उद्यम विकास, नेतृत्व विकास, उद्यमीको वित्तीय पहुँच, बजारीकरण सीप तथा सरकारको कार्यक्रममा पहुँंच निर्माण, ग्रामीण उद्यमको दिगो विकासका लागि उद्यम परितन्त्र हितको उद्यमशील पालिका निर्माण, उद्यम ज्ञान, सिकाई, र अनुभव सम्प्रेषण र उद्यममा नविनतम तथा उद्यम चुनौति कोषमार्फत प्राविधिक सहकार्य गरिएको थियो । 

तिलोत्तमा नगरपालिका अन्तर्गतको चौंथो संस्करणको यो कार्यक्रमले महिला उद्यमीको ऊर्जा बढाउन सहयोग गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । यसअघि नगर प्रमुखसँग गरिएको यो कार्यक्रमलाई अहिले महिला उद्यमी लक्षित बनाएर लघु तथा घरेलु उद्यम सञ्चालन गरिरहेका महिला उद्यमीलाई हौसला प्रदान गरिएको उहाँले बताउनुभयो । 

उपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक वर्ष पालिकामा रहेका नयाँ उद्यमीलाई कार्यक्रमले समावेश गर्दै उनीहरुको स्तरवृद्धि तथा अन्य उद्यम भन्दा कसरी राम्रो गर्न सकिन्छ भन्ने प्रेरणा जगाइरहेको यस कार्यक्रलाई निरन्तरता दिन आफूहरु तयार रहेको प्रतिवद्धता जनाउनुभयो । 

दायित्वले यो कार्यक्रम लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा, पाल्पाको तानसेन, गुल्मीको मुसिकोट र पश्चिम नवलपरासीको सुनवलमा सञ्चालन गरेको छ । 

कर्णालीको सुर्खेत, गण्डकीमा बाग्लुङको गलकोट र बाग्मतीको मकवानपुर र रामेछापमा सञ्चालन गरेको संस्थाका कार्यकारी निर्देशक सुशीत ढकालले जानकारी दिनुभयो ।