राष्ट्रिय

रास्कोटका दुई वडा बालविवाह मुक्त घोषणा

- तुलाराम पाण्डे

कालिकोटको रास्कोट नगरपालिकाका दुई वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । रास्कोट ४ र ९ नं वडामा बालविवाहको दर सून्यमा झरेपछि बालविवाह मुक्त घोषणा गरिएको हो । रास्कोट नगर प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालको सहभागितामा वडा कार्यालयद्धारा आयोजित घोषणा सभामा एक वर्षभित्र पुरै नगरका ९ वटै वडालाई बालबविवाह मुक्त घोषणा गरिने सरोकारवालाले प्रतिवद्धता गरेका छन् ।

समुदायले पनि बालविवाहलाई सामाजिक अपराधको रुपमा लिएर एक वर्षको अवधिमा बालविवाह नगरेकाले वडा नं ४ र ९ लाई दुई दिनको फरकमा बालविवाह मुक्त घोषणा गरिएको नगर बालअधिकार समितिका संयोजक मनिराज बरालले बताउनुभयो । 

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, पोषण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै रास्कोट नगरपालिकाले निर्माण गरेको बालविवाह विरुद्धको रणनीतिअनुसार धामीझाक्री, पण्डित, बालअभियन्ता, सामाजिक कार्यकर्ता परिचालन गरेर बालविवाहलाई सून्यमा झार्न सफल भएको वडा नं ४ का वडाध्यक्ष दिनेश संज्यालले बताउनुभयो ।