राष्ट्रिय

स्रोत सुकेपछि बर्दिवासमा पानीको हाहाकार

- सुनिता बराल

पाँच वर्षअघिसम्म जरुवाले जलमग्न हुने बर्दिवास–१२ स्थित जुरी बजार क्षेत्रमा अहिले खानेपानीको हाहाकार छ । केही वर्षअघिसम्म प्रशस्त मुहान रहेको सो क्षेत्रमा अहिले नदी, पोखरी, इनार र कल सुकेको छ । स्थानीयले पानीको जोहो गरिदिन सरोकारवालासँग माग गरेका छन् । बर्दिवास–१२ का अकवानटोल, चल्की, जुरीबजार, देवनगर, अभिमानटोल, इस्लाम टोलका करिब १ हजार परिवारले पानीको चरम समस्या भोगिरहेको वडाध्यक्ष रामकिशोर साहले बताउनुभयो । तीन वर्षयता पानीको समस्या निकै जटिल बन्दै गइरहेको साहले बताउनुभयो । पछिल्लो समय विद्यालय र वडा कार्यालयमा रहेको डिप बोरिङबाट स्थानीय लाईन लागेर खानेपानीको जोहो गर्दै आएको उहाँको भनाई छ ।

पानी अभाव हुन थालेपछि स्थानीयले सास्ती खेप्नु परेको छ । दैनिकीका अन्य काम छोडेर पानी जोहो गर्न सर्वसाधारण लाइन बस्नु परेको हाम्रा सहकर्मीले जनाएका छन् । सागपात लगाउन, नुवाई धुवाई लगायत सरसफाई गर्न, चौपायालाई खुवाउन पानीको हाहाकार भएको जुरीटोलका सूर्य नारायण मण्डलले बताउनुभयो ।

वडा नम्बर १२ को खानेपानी समस्या समाधान गर्न संघीय सरकारको खानेपानी मन्त्रालयबाट सुरु भएका ३ वटा योजना संचालनमा नआउदा स्थानिय समस्यामा छन् । सो योजनामा चालु आर्थिक वर्षमा समेत मगरटोलमा खानेपानी बोरिङमा १५ लाख, रामजानकी टोलमा १५ लाख र ५० लाख डाँडा टोल बजार छेउको डिप बोरिङ योजनाको काम सम्पन्न गर्न बजेट छुट्याए पनि आर्थिक वर्षको अन्तसम्म ५ वर्षअघिनै संचालनमा आउनपर्ने खानेपानी योजना अझै काम पुरा हुन सकेको छैन । योजनाको डिपिआर अनुसार बजेट नआउदा योजनाहरु समयमै पुरा गर्न समस्या हुनेगरेको खानेपानी डिभिजन जलेश्वरका सव इन्जिनियर बृजेश यादवले बताउनुभयो ।