राष्ट्रिय

काँग्रेसको अवरोधपछि वागमती प्रदेशसभा बैठक स्थगित

- सुवास विडारीकाठमाडौं

आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि असन्तुष्टि जनाएको काँग्रेसले वागमति प्रदेशसभाको बैठकमा अवरोध गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु भएसँगै काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले विशेष समयमा आफ्नो धारणा राख्दै बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको थियो ।

काँग्रसेले आफ्नो धारणा राखेपछि विरोध सुरु गरेको हो । संसदीय दलका नेता लामाले आफूहरुको माग पूरा नभएसम्म सदनमा बजेटमाथिको छलफल अगाडि नबढ्ने चेतावनी समेत दिनुभयो ।

अवरोधका बीच सभामुख भुवनकुमार पाठकले सदन सञ्चालन गर्न खोजेपछि काँग्रेस सांसदहरुले नाराबाजी गरेपश्चात् दिउँसो ३ बजेसम्म स्थगित गरिएको बैठक सहमति हुन नसकेपछि भोलि सम्मका लागि स्थगित भएको हो ।

आर्थिक रुपमा तालमेल नमिलेको, आफूहरुलाई उपलब्ध गराएको बजेट पुस्तिका गलत भएको, विविध शीर्षकको बजेट लुकाइएको काँग्रेसको आरोप छ । वागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षकालागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट पेश गरेको थियो ।