राष्ट्रिय

कारागारमा सुरुङ खनेर भागेका अभियुक्त १५ वर्षपछि पक्राउ

- मनोज पौडेलकपिलवस्तु

कपिलवस्तु कारागारमा सुरुङ खनेर फरार भएका भारतीय नागरिक १५ वर्षपछि पक्राउ परेका छन् । भारत उत्तर प्रदेशका स्कूलमिया अन्सारी भनिने मोहम्मद स्कूललाई शिवराज नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी नवरत्न पौडेलले बताउनुभयो । 

उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना ९ दिन कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसलापछि कारागार चलान भएका अन्सारी सहित ८ जना कैदी २०६६ माघ २ गते कपिलवस्तु कारागारमा सुरुङ खनेर भागेका थिए । 

प्रहरीका अनुसार उनीहरुले कोठाभित्रैबाट २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए । फरार कैदीबन्दी पक्राउ गर्ने अभियान अन्तर्गत उनी लुकिछिपी बसेको सूचनाको आधारमा खटिएको टोलीले पक्राउ गरिएको एसपी पौडेलले जानकारी दिनुभयो । 

कारागारमा सुरुङ खनेर भागेका ७ जना भने यसअघि नै पक्राउ परेका थिए । ‘सुरुङ खनेर भाग्नु जघन्य अपराध हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले अन्सारीलाई लामो प्रयासपछि पक्राउ गरियो ।’ 

उनीहरुले करीब ढाई फुट गोलाईमा सुरुङ खनेका थिए । रातभरी सुरुङ खनेर उनीहरु बिहान पख भाग्न सफल भएका थिए । 

एसपी पौडेल सरुवा भई आएपछि अभियान चलाएर ९ महिनामा एक सय २६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । पौडेलका अनुसार उनीहरुबाट एक सय ४७ वर्ष कैद सजाय र १६ लाख १३ हजार रुपैयाँ जरिवाना असुल्न बाँकी थियो ।