गुल्मीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु (अपडेट)
- गुल्मीअविरल वर्षापछि खसेको पहिरोले पुरिएर गुल्मीमा ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जे ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी राजन भुजेलले बताउनुभयो ।
प्रहरीका अनुसार ५५ वर्षीय भेष बहादुर कामी, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी वर्षीया सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको हो ।
गएराति खसेको अविरल वर्षाका कारण उनीहरुको घरमाथिबाट ढुँगा र माटो सहितको पहिरो खसेर २ तले घर पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोको जानकारी पाएपछि इश्मा प्रहरी चौकीबाट खटिएको टोली र स्थानीयको सहयोगमा उनीहरुको शव निकालिएको हो ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक रामकुमार केसीको नेतृत्वमा १५ जना र रामवाण गुल्म तम्घासबाट उपसेनानी मिनबहादुर साहीको नेतृत्वमा २२ जनाको टोली घटनास्थल पुगेको छ । पहिरोले रिडी बुर्तिबाङ सडक लगायत विभिन्न सडकहरु समेत अवरुद्ध भएका छन् ।