राष्ट्रिय

निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न सरकारको आग्रह

- केएफएम डेस्क

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । 

विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिका अनुसार पूरा गर्नुपर्ने न्यूनतम सर्त पूरा नगरेका विदेशी शिक्षण संस्थामा हाललाई विद्यार्थी भर्ना नलिन मन्त्रालयले भनेको हो । यसैबीच, त्यस्ता शैक्षिक संस्थामा भर्ना नगर्न विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई वेबसाइट मार्फत सूचित गर्ने मन्त्रीस्तरीय निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

विदेशी शैक्षिक संस्था छनोट गर्दा सम्बन्धित देशको प्रचलित कानुन बमोजिम स्वीकृति÷गुणस्तर सुनिश्चितता प्राप्त गरे नगरेको यकिन गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । यस्तै, मन्त्रालयले सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिबाट प्राप्त सुझावलाई समावेश गरी निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ । यसका लागि उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलको म्याद थप गरी १५ दिन भित्र मस्यौदा तयार गरी पेश गर्न निर्देशन दिइएको छ।