पहिरोले शनिबार बिहानैदेखि राप्ती राजमार्ग अबरुद्ध
-अविरल वर्षापछि खसेको पहिरोले राप्ती राजमार्ग शनिबार बिहानैदेखि अबरुद्ध भएको छ । सल्यानको कपुरकोट बजार नजिकै चोरखोलामा पहिरो खस्दा बिहानैदेखि राप्ती राजमार्ग अबरुद्ध भएको हो ।
सडक अबरुद्ध हुँदा दर्जनौं गाडी सहित यात्रुहरु सडकमै अलपत्र परेका छन् । कतिपय त हिँडेर आउजाउ गर्न बाध्य छन् । डोजरको प्रयोग गरी बाटोमा खसेको पहिरो हटाउने काम भईरहेको र सुक्षाकर्मी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताउनुभयो ।
सडकमा ठूल्ठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । ‘वर्षाका कारण चोरखोलामा पहिरो जाँदा दैनिक जसो एक डेढ घन्टासम्म राप्ती राजमार्ग अबरुद्ध हुँदै आएको छ’, उहाँले भन्नुभयो, ‘स्काभेटर, डोजर सडकमा खसेको पहिरो हटाउने गरेकोले विगतमा जस्तो यात्रुले लामो समय सडकमै बस्नुपर्ने अबस्था भने छैन ।’
राप्ती राजमार्ग मात्र नभई जिल्लाका केही ग्रामीण सडक पनि पहिरोले अबरुद्ध भएका उहाँको भनाई छ । राप्ती राजमार्गको चोरखोलामा दैनिकजसो ढुंगामाटो सहितको पहिरो खस्दा सडक साँघुरो भएको र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको यात्रुहरुको गुनासो छ ।