राष्ट्रिय

हुप्सेकोटको पांग्रेमा खसेको पहिरो एक हप्तासम्म पनि हटेन

- नवीन पौडेलनवलपरासी पूर्व

नवलपरासी पूर्वको कावासोतीबाट पहाडी भेग जोड्ने हुप्सेकोट गाउँपालिका–५ स्थित पांग्रेमा खसेको पहिरो एक हप्तासम्म पनि नहट्दा आवागमनमा समस्या भएको छ । 

पूर्व–पश्चिम राजमार्गको कावासोती कुमसोत–पोखरी खण्डको पांग्रेमा एक हप्ता अगाडि पहिरो खसेको थियो । तर, बाटोमा खसेको पहिरो अझै हटाएको छैन । पहिरो हटाउने प्रयास भएपनि लगातारको वर्षाको कारण समस्या भएको प्रहरीले जनाएको छ । 

सो सडक अवरुद्ध हुँदा पहाडी भेगको बौदीकाली, बुलिङ्गटार गाउँपालिकामा खाद्यन्न लगायत वस्तुको ढुवानीमा समेत समस्या भएको छ । एक हप्तासम्म पनि पहिरो नहटेपछि स्थानीयले कालिगण्डकी करिडोर हुँदै गैंडाकोट आउनुपर्ने बाध्यता छ । 

बिरामी तथा अत्यावश्यक काम परेका ब्यक्ति बढी प्रभावित भएको फलफूल चोक–बालुवाडाँडा–पोखरी सडकका अध्यक्ष लालचन श्रेष्ठले बताउनुभयो । स्थानीयले पहिरो पन्छाउनका लागि सडक विभाग, निमार्ण कम्पनी र सरोकारवालालाई आग्रह गरेको भएपनि वर्षाको कारण पहिरो हटाउन सकिएको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलका अनुसार वर्षाको कारण पहिरो हटाउने अवस्था नरहेको र वर्षा रोकिएसँगै पहिरो हटाउन सम्बन्धित निकायसँग समन्वय गरिएको छ । यो सडकखण्ड अहिले बिस्तारको क्रममा छ । 

२०७४ मा सम्झौता भएर बहुवर्षे योजनाको रुपमा अगाडि बढेको यो सडकको अहिलेसम्म ९० प्रतिशत काम भएको छ । पहिरो हटाउन र सडक मर्मतका लागि ठेकेदार कम्पनीलाई पटक पटक सम्पर्क गर्दा पनि बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।