राष्ट्रिय

एकीकृत समाजवादीको दशौं केन्द्रीय कमिटीको प्रथम बैठक बस्दै

- केएफएम डेस्क

एकीकृत समाजवादीको दशौं केन्द्रीय कमिटीको प्रथम बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह १ बजे बैठक बस्ने बताइएको छ । बैठकले आगामी दिनमा पार्टीको रणनीति र टुंगो लाग्न बाँकी केन्द्रीय कमिटी सदस्य छनौट प्रक्रिया लगायत विषयमा छलफल गर्ने पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । 

बैठकमा केन्द्रीय कमिटीमा सर्वसम्मतीले निर्वाचित अध्यक्ष, सम्मानित नेता र महासचिवले प्रस्ताव गर्ने र सोही प्रस्तावमाथि छलफल हुने नेता तुलाधरले बताउनुभयो । यसअघि हुँदै आएका अभ्यासमाथि पनि छलफल हुने उहाँको भनाई छ । यस्तै विभिन्न कारणले क्रियाशिल बन्न नसकेका सदस्यहरुका बारेमा पनि छलफल हुने र जिम्मेवारी दिने लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादी पार्टीको हिजो सम्पन्न दशौं महाधिवशेनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको छ । केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । उसको वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिवमा १९ सहित २ सय ६ केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ । पार्टी उपमहासचिव तुलाधरले एक साता भित्र बाँकी पदाधिकारी सहित केन्द्रीय सदस्यको टुंगो लाग्ने बताउनुभयो ।