राष्ट्रिय

पहिरोमा परी तनहुँमा ३ जना बेपत्ता

- सम्झना रसाइली काठमाडौं

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

 अबिरल वर्षाका कारण स्थानीय हिरा नेपाली र सुनमाया कुमालको घरमाथीबाट आएको पहिरो पन्छाएर घरभित्र रहेका सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा फसेका हुन् । प्रहरीका अनुसार स्थानीय ४० वर्षीया हिरा नेपाली, ३६ वर्षीय अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता छन् । 

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, दोलखाको रोल्वालिङ खोलामा गएराति आएको बाढीले गौरीशंकर गाउँपालिका–९ को डोगाङमा एक जना वेपत्ता भएका छन् । 

वेपत्ता हुने सोही गाउँकी ६५ वर्षीया जाङमु शेर्पा रहेको प्रहरीले जनाएको छ । यसैबीच, राप्ती नदीमा बगेर दाङको लमही नगरपालिका–८ बगरापुरका ६२ वर्षीय मनियम चौधरी  वेपत्ता भएका छन् ।

 उनको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताउनुभयो । 

यसैबीच, तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित झापुटारस्थित निर्माणधिन तनहुँ हाइड्रोपावरको सुरुङ मार्ग माथीबाट ढुङ्गा खस्दा एक मजदुरको मृत्यु भएको छ । घटनामा ५० वर्षीय कृष्णबहादुर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।