राष्ट्रिय

कैलालीमा कैलारी र भजनीका गाउँ जलमग्न, १४१ परिवार विस्थापित

- अर्जुन शाहधनगढी

कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकांश गाउँ जलमग्न भएका छन् । कैलारी ५ का पुरानो मनिकापुरका १५ परिवार र पुरानो बहिसपुर १५ परिवार, वडा नम्बर ७ को बड्का वसन्ता र छुट्की बसन्ता गाउँहरु डुबानमा परेका हुन् । 

बडैपुरबाट आउने कटैनी खोलाको बाढी गाउँमा पसेको कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले बताउनुभयो । जोखिममा परेकाहरुलाई मध्यरातमा सुरक्षित स्थलतर्फ सारिएको उहाँले जानकारी दिनुभयो ।

यता, भजनी नगरपालिकाका सबै वडाका बासिन्दाहरु डुबानबाट प्रभावित भएको नगरप्रमुख केवल चौधरीले बताउनुभयो । डुबानमा परेका परिवारहरुलाई सुरक्षाकर्मीहरुले मध्यराति उद्दार गरेरे सुरक्षित स्थानमा सारेका छन् । 

राति नै सुरक्षाकर्मीहरुले तीन वटा डुंगाबाट डुबानमा परेकाहरुलाई सुरक्षित स्थलमा सारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार १४१ परिवारका ५९१ जना विस्थापितहरुलाई नजिकका विद्यालयमा सारिएको छ । 

अझै पनि कैलालीका नदीको सतह जोखिमको तह आसपास रहेको प्रजिअ मिश्रले बताउनुभयो । ‘बिस्तृत अवस्था अहिले थाहा हुनेछ,’ उहाँले भन्नुभयो, ‘अवस्था अनुसार अन्य व्यवस्थापकीय सहयोगहरु गर्ने तयारी छ ।’