राष्ट्रिय

दोलखास्थित भीमेश्वरको शिलामा ‘पसिना’

- केदार शिवाकोटीदोलखा

दोलखा भीमेश्वरको मन्दिरमा रहेको शिलामा शनिबार दिउँसोबाट ‘पसिना’ आएको छ ।

मन्दिर व्यवस्थापन समितीका रोजन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ ४० देखि ‘पसिना’ आएको बताउनुभयो । शिलाको बायँयाबाट ‘पसिना’ आएको उहाँले जानकारी दिनुभयो ।

भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपवत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्कले गरेका थिए । भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविस्वास गरिने गरिएको छ ।

शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितीलाई खबर गरेका थिए । ‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन,प्रहरी,नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधी मन्दिरमा पुगेका थिए ।

भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविस्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्रप्रमुखले क्षमापूजा गर्ने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिदैं आएको छ ।

विक्रम संवत १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।