राष्ट्रिय

जङ्गली च्याउ खाँदा सल्यानमा एकै घरका पाँच जना बिरामी

- विप्लव महर्जनसल्यान

सल्यानमा जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् । जङ्गली च्याउ खाँदा बाग्चौर नगरपालिका ४ पेदीखोलाका ७५ वर्षीया सरस्वती वली, ५६ वर्षीया दिलमाया वली, ३२ वर्षीय दिलपुजा पुन, ११ वर्षका रेमन्त बुढाथोकी र ८ वर्षीय आचल वली बिरामी भएका हुन् ।

च्याउ खाएपछि वान्ता आउने, पखाला लाग्ने समस्या देखिएका उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । जिल्ला अस्पताल सल्यानमा भर्ना भएका उनीहरु अहिले खतरामुक्त रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डा.शरद धितालले बताउनुभयो ।

जङ्गली च्याउ विषालु भएकै कारण उनीहरुलाई वान्ता हुने, पखाला लाग्ने समस्या देखिएको धितालको भनाई छ । बच्चाबच्चीले घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको सधै खाने गरेको सल्ले च्याउ खाएको केहिसमय पछि आफूहरु बिरामी भएको उनीहरुले बताएका छन् ।