राष्ट्रिय

सिद्धार्थ राजमार्गमा एकतर्फी यातायात सञ्चालन, जोखिम कायमै

- माधव अर्यालपाल्पा

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदे खोला नजिक भासिएको सडकमा डाइभर्सन गरे पनि जोखिम कायमै छ । दुई वर्षअघि भासिएकै स्थानमा पुनः ५० मिटर सडक भासिएपछि डाइभर्सन गरी एकतर्फी रुपमा सवारी साधन सञ्चालन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

सडक डिभिजन पाल्पाले सोमबार दिनभर डाइभर्सनका लागि काम गरेको थियो । सवारी साधन एकतर्फी सञ्चालन गर्न सकिने गरी डाइभर्सन बनाइएको डिभिजन कार्यालयका प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । ‘हामीले तत्कालका लागि भासिएकै स्थानमा गग्रेटो भरेर यातायात सञ्चालन गरेका छौं,’ उहाँले भन्नुभयो, ‘तर यो दिगो समाधान होइन ।’ 

सापकोटाका अनुसार त्यहाँ माथिल्लो भागमा पानी उम्रने र कमजोर भुगोल रहेको छ । सडक डिभिजनले तल्लो भागमा गत वर्ष रिटेनिङ वाल लगाएको थियो । पक्की ढलान गरेर पहिरो रोकथामका प्रयास गरेको उहाँले जानकारी दिनुभयो । ‘माथिल्लो भागमा पनि रिटेनिङ वाल लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘तर यसले समाधान भएन । अब कसरी अघि बढ्ने भन्ने अन्योल छ ।’

माथिल्लो भागमा आर्थिक वर्ष २०८०/८१ मा सडक चौडा गरेको छ । लामो समय एकतर्फी भएको सडकमा केही महिना अघि मात्र चौडा गरेर दुईतर्फी यातायात सञ्चालन हुँदै आएको थियो । तर, पानी पर्नासाथ माथिल्लो भागबाट पहिरो खस्न सुरु गरिसकेको थियो । सडक डिभिजनले त्यही स्थानमा डोजर राखेर पहिरो पन्छाउने गरेको छ ।

भासिएकै स्थानमा गग्रेटो राखेर एकतर्फी यातायात सञ्चालन गरे पनि तत्कालीन समाधान मात्र भएको डिभिजन प्रमुख सापकोटाले बताउनुभयो । ठूलो पानी पर्नासाथ सवारी आवागमन रोकिने जोखिम कायमै रहेको उहाँको भनाई छ । सोही स्थानमा वर्षौअघिदेखि माथिल्लो भागबाट पहिरो खसिरहने समस्या छ । त्यस्तो तल्लो भागमा सय मिटर बढी क्षेत्रमा भासिने समस्या छ । 

यहाँ चुरे र महाभारत क्षेत्रको मध्यभाग पर्छ । जसले गर्दा कमजोर भूःभाग रहेको छ । ‘माटो नै अडिने खालको छैन,’ सडक डिभजिनका सूचना अधिकारी दुर्गा गौतमले भन्नुभयो, ‘पानी भित्रभित्रै भासिएर गएको छ । तलतल पानी बगेर भासिएको देखिएको छ ।’

हिउँदे खोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा छ । पछिल्लो समय सिद्धार्थ राजमार्ग भएर अत्यधिक भार बोकेका सवारी साधन सञ्चालन हुने गर्दा पनि थप समस्या भएको हो । यस क्षेत्रमा नौ वर्षअघि पनि सडक भासिएको थियो । हिउँदे खोलामा माथिल्लो भागबाट गग्रेटो बगेर आउने समस्या पुरानै हो ।

यही राजमार्ग भएर दैनिक ५ हजार बढी सवारी साधन ओहोरदोहोर गर्छन् । हिउँदे खोलाको पहिरोको विषयमा यसअघि नै सडक डिभिजन र कन्सल्टेण्ट इन्जिनियरहरुले अध्ययन पनि गरेका थिए । 

सडक डिभिजन पाल्पाका अनुसार कन्सल्टेण्ट इन्जिनियर मधुसुधन अधिकारीले हिउँदे खोलाको अध्ययन गरेका हुन् । ‘त्यही अध्ययन प्रतिवेदन झिकाएर भासिनुको कारण खोजी गर्दैछौं,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बल्ल यो भासिएको स्थानमा कसरी समाधान खोज्ने भन्ने हुन्छ ।’