राष्ट्रिय

मुख्यमन्त्रीको सपथ बुधबार

- सुवास विडारी

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाको पद तथा गोपनियताको सपथ ग्रहण बुधबार हुने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार लामाको सपथ विहान ११ः११ बजेका लागि तय गरिएको छ । लामालाई प्रदेश प्रमुख शर्माले मंगलबार साँझ प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुफमा नियुक्त गरेका थिए । लामालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुत्त गरिएको हो । उनीसँगै मन्त्रीहरुको समेत सपथको तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको सपथको तयारी छ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा मिलिसकेको छ । एमालेले नयाँ बन्ने मन्त्रीको सूची नै जिम्मेवारीसहित सार्वजनिक गरिसकेको छ । कांग्रेसभित्र भने मन्त्री छनौटको रस्साकस्सी जारी नै छ । कांग्रेसले बुधबार विहानसम्ममा सबै टुंगिसक्ने जनाएको छ ।