राष्ट्रिय

लुम्बिनीको विकास र जनताको पक्षमा खटेर काम गर्छुः मुख्यमन्त्री आचार्य

- वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय काममा शितिलता आएका कारण प्रदेश सरकारप्रति प्रश्नचिन्ह खडा भएकाले निराशालाई आशामा परिणत हुने गरी काम गर्ने बताउनु भएको छ । देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन र जनतामा डेलिभरी दिने गरी कार्ययोजना बनाएर हरेक क्षेत्रका काम कारवाहीलाई पूर्णता दिने बताउनुभयो ।

 समग्र प्रदेशको विकास र जनताको पक्षमा काम गर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री आचार्यले सुशासन प्रबद्र्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँचवर्षे रणनीति कार्ययोजना लागु गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको छ । राजनीति अस्थिरता अन्त्य गर्दै वर्तमान कांग्रेस–एमाले गठबन्धन सुशासन कायम गर्न, प्रदेश सरकारको औचित्य पुष्टि गर्ने गरी काम गर्न लुम्बिनी सरकार प्रतिबद्ध रहेको आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेशलाई सुशासन सहितको आर्थिक विकास, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सृजना लगायतका काममा अब्बल लुम्बिनी प्रदेश बनाउन योजना बनाएर अगाडी बढ्ने उहाँले उल्लेख गर्नुभयो । 

लुम्बिनीमा पहिलो पटक ठूला दुई दलको संयुक्त सरकार गठन भएको छ । हाल १२ मन्त्रालय छन् । आज मुख्यमन्त्री सहित एमालेबाट चार र कांग्रेसबाट चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । एमालेले मुख्यमन्त्री र चार मन्त्री, कांग्रेसले पाँच मन्त्रालय बाँडफाँड गरेका छन् । कांग्रेसबाट थप एक जना मन्त्री पछि नियुक्त हुने बताइएको छ ।