राष्ट्रिय

नेपालीहरूको उद्धारका विषयमा उच्च कूटनीतिक पहल जारीः परराष्ट्रमन्त्री राणा

- केएफएम डेस्क

परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनु भएको छ । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री राणाले रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेकबताउनु भएको हो ।

यसअघिका दुई परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र एनपी साउदले पटक–पटक आग्रह गर्दासमेत रुसले नेपाली पक्षको चासोलाई सम्बोधन भने गरेको छैन ।

मन्त्री राणाका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । साथै, २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ । यस्तै, हालसम्म युक्रेनमा युद्धबन्दी र ६ जना रहेके मन्त्री राणाले बताउनुभयो । मन्त्री राणाका अनुसार ५ जना घाइतेको उपचार भइरहेको छ । मस्कोस्थित नेपाली दूतावासको समन्वयमा १ सय ५० जना नेपाल फर्केका छन् ।

हालसम्म उद्धारका लागि ३ सय २३ जनाको आवेदन परेको छ भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या १ सय १६ रहेको छ । यस्तै १ सय ६१ जनाले फिर्ता गराइदिन अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्री राणाले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको उद्धारका लागि नेपाल सरकारले सुरुदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहल निरन्तर रुपमा गर्दै आइरहेको बताउनुभयो । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको पनि मृत्यु भएको थियो भने जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो ।