राष्ट्रिय

नक्सा विवादको दोष तत्कालीन सुगौली सन्धिलाई जान्छः भारतीय पत्रकार नयनीमा बासु

- केएफएम डेस्क

नेपाल–भारतको नक्सा विवादको दोष तत्कालीन ब्रिटिश साम्राज्यको सुगौली सन्धिलाई जाने परराष्ट्र मामिलाका भारतीय पत्रकार नयनीमा बासुले बताउनुभएको छ ।

मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित राजनीतिका विषयमा समाचार संकलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि विषयक कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि भारत–नेपाल सम्बन्धमा चिसोपना आएको थियो ।

दुई दिन सञ्चालन गोष्ठीमा सहभागी महिला पत्रकारलाई परराष्ट्र मामिला र भूराजनीतिक विषयमा बासुले आफ्नो दुई दशक लामो अनुभव सुनाउँदै व्यवसायिकतामा जोड दिन आग्रह गर्नुभयो ।

नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जिकिर गर्दै नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी भएको औँल्याउनुभयो ।

 कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने मत राख्नुभयो । पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले समेत विश्वास गरेको अध्ययनले देखाएको उहाँको भनाइ छ ।