राष्ट्रिय

हवाई दुर्घटनाबारे संसदीय समितिको चासो

- केएफएम डेस्ककाठमाडौं

नेपाली वायुसेवाको उडानलाई युरोपेली संघ ईयूले प्रतिबन्ध लगाएको एक दशक भइसकेको छ । नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भन्दै ईयूले आफ्ना सदस्य मुलुकमा सन् २०१३ देखि नेपाली वायुसेवाको उडानलाई प्रतिबन्ध लगाएको थियो ।

तर, पटक पटक भईरहेको हवाई दुर्घटना लगायत कारण नेपालको उड्डयन क्षेत्र सुरक्षित नभएको भन्ने इयूको दावीलाई थप बल पुगेको छ । नेपाली वायुसेवालाई १० वर्षदेखि लगाएको निषेध कायमै रहेको विषयमा संसदीय समितिमा आज छलफल समेत हुँदैछ ।

ईयूको हवाई सुरक्षा सम्बन्धीसुरक्षा सूची, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति लगायत सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल हुन लागेको हो ।

संसदीय समितिमा दिउँसो ३ बजे हुने छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई छलफलका लागि बोलाएको समिति सभापति राज किशोर यादवले बताउनुभयो । 

इयुको प्रतिनिधिमण्डलले २०८० भदौमानेपाल आएर प्राधिकरण, नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सको अवलोकन तथा मूल्यांकन गरेको थियो । त्यसैको आधारमा ईयूले नेपाललाई सुरक्षा सूचीबाट तत्काल हटाउन नसक्ने जनाएको हो ।