राष्ट्रिय

क्रिकेटर लामिछाने विरुद्ध पुनरावेदन नदिन गौशला २६ को निवेदन

- केएफएम डेस्क काठमाडौं

जबरजस्ती करणी मुद्दामा क्रिकेटर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको फैसला विरुद्ध पुनरावेदन नदिन पीडित गौशला २६ ले निवेदन दिएकी छन् । 

पीडित गौशला २६ ले मुद्दाको कारवाही अगाडी नबढाउन केहीदिन अघि सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन् । 

उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेको पत्र सार्वजनिक भएको हो । यद्यपी, सरकारी वकिलको कार्यालयले भने पुनरावेदनमा जाने नजाने विषयमा निर्णय गर्न नमिल्ने बताएको छ । 

सो मुद्दा दर्ता भए लगत्तै देखि गौशला २६ ले आफूलाई मानसिक एवम् सामाजिक असर परेको निवेदनमा उल्लेख गरेकी छन् । गत जेठ २ गते जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

 उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । 

काठमाडौं जिल्ला अदालतले भने लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गत पुषमा ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो ।