धार्चे पहिरोः बेपक्ता फेला परेनन्, भोली बिहानैबाट खोजी थालिने
-गोरखामा गएको पहिरोमा परि बेपक्ता भएकाहरुको दिनभर खोजी गरिएपनि फेला पर्न सकेका छैनन् । धार्चे गाउँपालिका ५ गुम्दा स्थित रेसे फाँटमा आज बिहान गएको पहिरोमा परि ५ जना बेपक्ता भएका छन् ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बेपक्ताहरुको आज दिनभर खोजी गरेका थिए । बेपक्ता भएकाहरु भेट्न नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । भोली सबेरै बाट खोजी शुरु गर्ने उहाँले बताउनुभयो । लेदो रहेको क्षेत्रफल ठुलो रहेकाले जेसिभिको सहायताले आज दिनभर बेपक्ताहरुको खोजी गरिएको थियो ।
नान्सेन सामुदायिक वनबाट झरेको लेदो सहितको पहिरोमा परि धार्चे गाउँपालिका ५ रेसेफाँटका ३७ बर्षिय जीत वहादुर गुरुङ, उनकी श्रीमती ३५ बर्षिया कान्छी गुरुङ, उनका बुबा ६० बर्षिय सुलाल कान्छा गुरुङ, सिङलाका ३३ बर्षिय रमेश गुरुङ र ट्याक्टर चालक २४ बर्षिय रमेश परियार बेपक्ता छन् । पहिरोले जीत वहादुर गुरुङले संचालन गर्दै आएको कृषि फर्म र नजिकैको एक घर बगाएको छ । पहिरोमा परि घाइते भएका दुइ जनाको काठमाडौ स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।