राष्ट्रिय

काम अलपत्र रहेका ५२ आयोजनाको ठेक्का तोड्ने सडक डिभिजन कार्यालय चरिकोटको तयारी

- केदार शिवाकोटी दोलखा

दोलखामा सम्झौता अनुसार समयमा काम नसकेर अलपत्र भएका निर्माण कार्यको ठेक्का तोड्न डिभिजन सडक कार्यालय चरिकोटले प्रक्रिया अघि बढाएको छ । 

सम्झौता गरेर समयमा काम नसकेका ५२ वटा निमार्ण कम्पनिका ठेक्का तोड्न डिभिजन सडक कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । 

सिन्धुपाल्चोक र दोलखा कार्यक्षेत्र रहेको कार्यालयले ५२ वटा निमार्ण कम्पनिलाई १५ दिनभित्र ठेक्का नतोड्नुको स्पष्टिकरण माग गरेको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठले बताउनुभयो । 

संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्र्तगत सडक डिभिजन कार्यालय चरिकोटले व्यवस्थापन गर्दै आएको ५२ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु भएको उहाँको भनाई छ । पटक पटक म्याद थप्दा समेत कुनै प्रगति नदेखिएपछि कार्यालयले मोटरेवल पुल र सडकको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । 

सार्वजनिक सूचनामा सम्झौता बमोजिम समयमा काम नगर्ने निमार्ण कम्पनिका ७ वटा पुल र ४५ वडा सडक रहेको श्रेष्ठले बताउनुभयो । पटक पटक मौखिक र लिखित स्पष्टिकरण सोधेपनि निमार्ण कम्पनिले वेवस्ता गरेपछि अलपत्र परेका आयोजनाको ठेक्का तोडने प्रक्रिया सुरु भएको हो ।