पहिरोले बेंसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध
- लमजुङगएरातिको अविरल वर्षापछि आएको बाढी पहिरोले लमजुङको बेंसीसहर–चामे खण्ड र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रातिदेखि अवरुद्ध बेंसीसहर–डुम्रे सडक भने खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मेघनाथ चापागाईंले हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पहिरोले सडक अवरुद्ध बनाएको बताउनुभयो ।
उहाँका अनुसार बेंसीसहर–चामे सडकको बेंसीसहर नगरपालिका–६, उत्तीसघारी खरखरे क्षेत्र र बेलौती बिसौना क्षेत्रमा सडक अवरुद्ध छ । यस्तै, प्रदेश राजधानी पोखरा र मध्यपहाडी लोकमार्गमा पर्ने सुन्दरबजार नगरपालिका–५, तार्कुखहरेस्थित खहरे खोलाले सडक बगाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक चापागाईंका अनुसार मध्यनेपाल नगरपालिका ६, पिस्ती खोला बढ्दा सवारी आवागमन रोकिएको छ । डुम्रे–बेंसीसहर सडकको बेंसीसहर नगरपालिका–१, उदिपुर, अँधेरीखोला र दलालमा बाढीपहिरोले सडकमा क्षति पुर्याएकोमा बुधबार बिहान खुलाइएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले जोखिम भने रहेको प्रहरीले जनाएको छ ।