राष्ट्रिय

पाथीभरा क्षेत्र विकास समितिको निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गरिने

- आनन्द गौतम तप्लेजुङ

पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत असार ३ मा स्वीकृत गरेको गठन आदेशमा उल्लेख भए अनुसार १५ दिनको समय राखेर खुला दरखास्त आह्वान गरिने भएको हो । पाथीभरा क्षेत्रलाई अब कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ ।

यसअघि संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको थियो । प्रदेशअन्तर्गत आएपछि सामाजिक विकास मन्त्रालयले गठन आदेश बनाई मन्त्रिपरिषद्बाट स्वीकृत गरेको हो ।

 गठन आदेशमा उल्लेख भएअनुसार अध्यक्ष र एक महिलासहितका तीन जना सदस्य प्रदेश सरकारले चयन गर्नेछ । यसअघि संघीय सरकारद्वारा नियुक्त अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक रहने व्यवस्था थियो । चार वर्षको नियुक्ति दिइएका उनीहरूको विषयमा गठन आदेश मौन छ । अहिलेलाई समिति र कार्यकारी निर्देशक नभएसम्म मन्त्रालयले नै हेर्ने मात्रै उल्लेख गरिएको छ ।