राष्ट्रिय

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक सूचना केन्द्र स्थापना

- शंकर आचार्यपर्सा

पर्यटकलाई निकुञ्जको गतिविधि तथा विविध पक्षबारे जानकारी दिने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । 

निकुञ्जमा रहेका रैथाने जंगली हात्ती, पाटे बाघ लगायत वन्यजन्तु तथा निकुञ्जका अन्य जानकारी दिने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको निकुञ्जका संरक्षण एवम् सूचना अधिकृत सन्तोष कुमार भगतले जानकारी दिनुभयो । 

जेडएसल नेपालको करीब १० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको सूचना केन्द्रमा डिजिटल प्रविधि तथा प्रकाशको माध्यमबाट निकुञ्जका गतिविधि बारे आधिकारिक जानकारी दिने व्यवस्था मिलाइएको छ । 

निकुञ्जको अमलेखगन्जस्थित हात्तीसार परिसरमा स्थापना गरिएको सूचना केन्द्रले सबै भन्दा बढी विद्यार्थी वर्ग लाभान्वित हुने भगतले बताउनुभयो । ‘निकुञ्ज भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बढी आगमन हुने ठाउँ हात्तीसार क्षेत्र रहेकाले यहाँ निर्मित सूचना केन्द्रबाट धेरैको पर्यटक निकुन्ज र यहाँ रहेका वन्यजन्तु बारेको जिज्ञासा समाधान हुनेछ,’ उहाँले भन्नुभयो, ‘विशेषगरी वन विज्ञान अध्ययन गरी रहेका विद्यार्थी तथा निकुञ्ज भ्रमणमा आउने अन्य संकायका विद्यार्थीहरु पनि केन्द्रबाट लाभान्वित हुनेछन् ।’ 

केन्द्रले पर्यटक आकर्षित गर्ने काम पनि गर्ने उहाँको भनाई छ । अन्य निकुन्जको तुलनामा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन कम रहेकाले पर्यटकीय गतिविधि तथा चहलपहल बढाउन केन्द्रले सहयोगी भूमिका खेल्ने सूचना अधिकृत भगतको विश्वास छ । 

नजिकमै रहेको हात्तीसारमा पर्यटकले हात्ती चढेर जंगल सफारी समेत गर्ने भएकाले यसले पर्यटकीय गतिविधिमा समेत योगदान दिने प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो ।