राष्ट्रिय

आँबुखैरेनीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण सुरु

- सम्झना रसाइलीतनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा भएको बस दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव परीक्षण सुरु गरिएको छ । चितवनको भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायका अनुसार दुर्घटनामा मृत्यु भएकाको शवको पोष्टमार्टमका लागि आँबुखैरेनी अस्पतालबाट गएराति नै भरतपुर अस्पतालमा पठाइएको थियो । 

काठमाडौंस्थित भारतीय दूतावासको आग्रहमा शवको पोष्टमार्टमका लागि चितवनमा लगिएको हो । पोष्टमार्टमपछि दूतावास मार्फत शव आफन्तको जिम्मा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ४३ जना भारतीय पर्यटक सवार बस हिजो बिहान मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । 

बस अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो । प्रहरीका अनुसार २६ जनाको घटनास्थलमै र एकको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत १६ जना घाइतेको अवस्था भने खतरमुक्त रहेको प्रहरी नायब उपरीक्षक जानकारी दिनुभयो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा १६ महिला र ११ जना पुरुष छन् । उनीहरु भारतको महारास्ट्रबाट नेपाल घुम्न आएका थिए ।