राष्ट्रिय

अन्तराष्ट्रिय अध्ययनको निष्कर्षः २०७२ सालको भूकम्पपछि नेपालमा जङ्फुड आदत बढ्यो

- दिपशीखा रेग्मी काठमाडौं

नेपालमा पछिल्लो समय जङ्फुड खाने आदत बढ्दै गएको छ । यसैक्रममा एक अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययनले २०७२ सालको भुकम्पपछि नेपालीहरुमा जङ्फुड खाने क्रम निकै बढाएको देखाएको छ । ग्लोबल फूड पोलिसी रिपोर्टका अनुसार ४५ प्रतिशत जनसंख्याले बढी नूनिला र फ्राइड स्न्याक्सको रुपमा जङफुड खाने गरेका छन् । बजारमा सहजै पाइने त्यस्ता खानेकुराले खासगरी बालबालिकामा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको विज्ञहरुको भनाइ छ ।

नेपालमा २०७२ सालको विनाशकारी भुकम्पपछि राहतका क्रममा चाउचाउ, बिस्कुट , दालमोठ, भुजिया लगायत प्याकेज गरिएका खानेकुरा विभिन्न संघसस्थाबाट सहयोग गरिएको थियो । अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाले हालै प्रकाशित गरेको ग्लोबल फूड पोलिसी रिपोर्ट २०२४ का अनुसार २०७२ सालको भूकम्पपछि जङ्फुडको प्रयोग निकै बढेको देखिएको छ । र, बजारमा पाइने त्यस्ता खानेकुरालाई दैनिक आहारको विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ । सो रिपोर्टका अनुसार नेपालमा ४५ प्रतिशत मानीसले खाना खथवा खाजाको रुपका जङ्फुड खाने गरेका छन् । जसबाट अस्वस्थ्यकर र गुणस्तरहिन खाद्यान्न प्रयोग गर्दा बालबालीका मात्रै नभई जुनसुकै उमेर समुहँका मानिसमा स्वास्थ्य समस्या हुने चिकित्सकको भनाइ छ । त्यस्तै जङ्फुडको अत्याधिक प्रयोगले जन्डीस्, कुपोषण, मोटोपना लगायत समस्याबाट मानिसहरु गुज्रिरहेको सो प्रतिवेदनमा उल्लेख छ । प्याकेज गरिएको खानाको अत्यधिक उपभोगले विशेष गरी विद्यालय जाने उमेरका बालबालिकामा कुपोषणको दर बृद्धि भएको पोषणविद् डा.अरुणा उप्रेतीले बताइन् ।

जङ्फुडको अत्यधिक प्रयोगले बालबालिकाको बृद्धि विकासमा कमी तथा किशोरी र महिलाहरुमा महिनावारी गड्बडी जस्ता समस्या उत्पन्न हुने देखिएको छ । पोषणविद् डा.उप्रेतीका अनुसार प्याकेज र प्रशोधित खानामा पाइने कार्बोहाइड्रेटको अत्यधिक सेवनले महिलामा हर्मोनल असन्तुलन र पुरुषमा दीर्घकालीन उच्च रक्तचाप र मधुमेहको जस्ता समस्या देखिएका छन् । ग्रामीण भेगमा प्याकेज गरिएका र प्रशोधित खाद्य वस्तुको अव्यवस्थित बिक्री, गुणस्तर जाँचविना नक्कली खाद्य तथा पेय पदार्थको सहज उपलब्धता, लगायत कारणले यस्ता खानेकुराप्रति आकर्षण बढेको डा. उप्रेतीको भनाइ छ ।

शहरी क्षेत्रमा व्यस्त दैनिकीका कारण भान्सामा पकाएर खाने चलन विगतको तुलनामा घट्दै गएको जानकारहरुको भनाइ छ । अभिभावकहरू अफिस जाने या आफ्नो काममा व्यस्त हुने हुदाँ जङ्फुड खाने बालबालिकाको संख्या बढिरहेको बताइन्छ । बजारमा पाइने रेडिमेड खाना बनाउन सजिलो हुने, कम समय लाग्ने र स्वादिलो पनि हुने हुनाले प्रायः अभिभावकले आफ्ना बच्चालाई खाजाको रुपमा चाउचाउ, बिस्कुट, चिप्स, ममः चाउमिन जस्ता खानेकुरा दिने गरेका छन् । यसबाट बालबालिकालाई जङ्फुडको आदत बसेको छ ।

ग्लोबल फूड पोलिसी रिपोर्टका अनुसार नेपालमा कूल जनसंख्याको झन्डै ८० प्रतिशतले स्वस्थ डाइट किनेर खान सक्ने अवस्था छैन । त्यस्तै, आर्थिक समस्याका कारण ११ प्रतिशत जनसंख्याले तरकारी र फलफूल खान सकेका छैनन् । जङ्फुडको प्रयोग कम गर्न राज्यको तर्फबाट पहल नभएको होइन । सरकारले देशका सबै सामुदायिक विद्यालयमा पोषणयुक्त दिवा खाजाको सुरुवात समेत गरेको छ । सरकारले प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँका दरले बजेट छुट्याएर विद्यार्थीलाई खाजाको व्यवस्था गरेको हो । सो कार्यक्रम सञ्चालन गरेमा बालबालिकाहरू नियमित स्कुल जाने र कुपोषण पनि केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने आँकलन गरिएको छ । त्यसैले प्रोटिनसँगै खानामा फाइबर र हरियो सागपातको मात्रा बढाउनुका साथै बालबालिकालाई फलफूल खाने बानी बसाल्नुपर्ने र बजारमा पाइने तयारी खानेकुरा कम गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।