राष्ट्रिय

वैशाख यता कोशी प्रदेशमा १ हजार ६९ जनामा डेङ्गी संक्रमण

- विनोद घिमिरे धनकुटा

कोशी प्रदेशका १३ जिल्लामा गत वैशाख यता १ हजार ६९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । 

लामखुट्टेको टोकाइबाट सर्ने सो संक्रमण ताप्लेजुङ बाहेकका जिल्लामा फैलिएको हो । गत बैशाख देखि भदौ पहिलो सातासम्म डेङ्गी संक्रमणका कारण झापामा १ जनाको मृत्यु भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो ।

 निर्देशनलयका अनुसार सबैभन्दा बढि मोरङमा ४ सय १२ जना डेङ्गी संक्रमित फेला परेका छन् । सुनसरीमा १ सय ९८, झापामा १ सय ४५ र धनकुटामा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६ जनामा संक्रमण देखिएको हो । 

खोटाङ पाँचथर र तेह्रथुममा भने १० जना भन्दा थोरैमा संंक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । गत वर्ष भदौ पहिलो सातासम्म कोशी प्रदेशमा डेङ्गी संक्रमितको संख्या २५ हजार बढि थियो ।